बैतडी- बैतडीको पाटन विमानस्थल २६ वर्षपछि २०७७ साल असोजमा सुचारु भएको थियोे । तत्कालिन पर्यटनमन्त्री योेगेश भट्टराइले ७७ असोज १७ गते विमानस्थलको उद्घाटन गरेका थिए । विमानस्थल सुचारु भएपनि यहाँका नागकिहरुले सेवा पाएका छैन्न ।
२०३६ सालबाट सञ्चालन आएर फेरि ५१ सालदेखि बन्द रहेको पाटन विमानस्थल पुनः ७७ बाट सुचारु हुँदा यहाँँका नागरिकहरु खुसि भएपनि सेवा नपाउँदा अहिले दुखि भएका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सम्पर्क बिन्दुसमेत रहेको पाटन विमानस्थलमा नयाँ संरचना निर्माण भइसकेका छन् ।
तर हवाइ मार्गबाट नागरिकहरुले सेवा पाएका छैनन् । उद्धघाटनका बेला पर्यटन मन्त्री लगायत जिल्लाबाट निर्वाचित सांसदहरुले उडानलाई निरन्तरताको बातावरण मिलाउने भनेपनि नागरिकहरुले सेवा पाएका छैनन ।
विमानस्थलमा भएको खर्च
विमानस्थलमा धावनमार्ग र टर्मिनल भवन समेत निर्माण भइसकेको छ । रोयल कन्ट्रक्सन धनगढी कैलालीले टर्मिनल भवन निर्माण गरेको हो ।
धावन मार्ग यस अघि नै निर्माण गरिएको थियो। ११ कारोड २९ लाखको लगानीमा धावन मार्ग निर्माण भएको हो भने ५ करोड ६२ लाको लागतमा टर्मिनल भवन निर्माण गरिएको छ । टर्मिनल भवन निर्माण भइसकेको र छिट्टै कन्ट्रोल टावरको निर्माण हुने इन्जिनियर कबिन्द्र बज्राचार्यले बताए ।
हवाइ सेवा किन भयो बन्द
धनगढी बैतडी साप्ताहिक रूपमा उडान पनि भएको थियो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको भएपनि भाडा महँगोका कारण यात्रु नपाउँदा करिब १ वर्ष देखि हवाइ सेवा बन्द छ । गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। त्यसपछि उडान भएको छैन् ।
पाटनदेखि धनगढी सम्मको १८ मिनेटको हवाइ यात्रामा समिट एयरले भाडा पाँच हजार रुपैयाँ लिने गरेको थियो । हवाइ भाडा महंगो भएकाले यात्रु पाउन छाडेपछि लामो समय देखि हवाइ सेवा बन्द छ ।
के भन्छन बैतडीबासी
जनताको ढाड सेक्ने गरि हवाइ भाडा असुल्दा यहाँका नागरिकरुलाई सेवा लिन समस्या भएको हो । मितव्ययी रुपमा जनतालाइ मार नपर्ने गरि भाडादर कम गर्नमा सम्बन्धित निकायले पनि चासो नदिएको यहाँका नागकिहरुको गुनासो छ । हवाइ भाडा कम गरि नियमित उडानका लागि सरोकारवाला निकायले पहल नगरेको स्थानीय पदम कुँवरले बताए । विमानस्थल पाएपनि हवाइ सेवा नपाएको स्थानीय गौरिदत्त भट्टले बताए ।
करौडौँ लगानी लगाएर विमानस्थल तयार हुँदा पनि नागरिकरुले सौलियतरुपमा सेवा नपाउनु दुःखद भएको उनले बताए । ‘विमानस्थल निर्माणमा करोडौँ खर्च गरेको छ , सेवा छैन, यो औचित्यहिन भयो’ उनले भने । महँगो हवाइ भाडाका कारण जनता सेवाबाट बञ्चित भएकाले यसमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने स्थानीय नरेन्द्र विष्टको भनाई छ । जिल्लाबाट संघ सम्म प्रतिनिधित्व गर्नेहरुले ध्यान नदिदा आफुहरु सेवाबाट बञ्चीत भइरहेका नागकिहरुको भनाई छ । ‘जिल्लाको विकास गर्छौँ भन्ने छन, गर्दैनन्, जिल्लामा सांसद छन् मन्त्री भएकै हुन कसलाइ के भन्ने रु जनताको पक्षमा काम गर्ने को छ ररु ’नागरिकहरुले भने । सरकारी स्वामित्वका एयरलाइन्सहरु सञ्चालन गर्न सरकार पक्षबाट कुनै पहल गरिएको छैन् ।
सरकारी स्वामित्वका एयरलायन्स सञ्चालनका लागि पहल गरेर जनतालाई सेवा दिनु पर्ने यहाँका नागरिकहरुको माग छ । अहिले सौलियतरुपमा सेवा नियमित नहुँदा जिल्लाबाट आकस्मिक रूपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातलमा लैजान पनि समस्या भएको स्थानीय जयराम भुलले बताए । नियमित हवाइ उडानले सहज सेवाका साथै यहाँको व्यापार व्यवसाय प्रबर्द्धन हुने आशा पलाए पनि अहिले आशा निराशामा परिणत भइरहेको छ ।
गरिब, निम्न वर्गलाई पनि हवाइ सेवा प्रयोग गर्ने बातावरण निर्माण हुनु पर्ने स्थानीयहरुको माग छ । निकै तामझामका साथ विमानस्थल उद्धाघटन गरेर नियमित उडानका गफ चुटिएपनि अहिले यहाँ नागकिहरुले सेवा नपाइरहेका हुन् ।





