बैतडी –सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा किबि खेती पनि शुरु गरिएको छ । किबि खेती तर्फ किसानहरुलाई समेत आकर्षण गर्नका लागि नमूनाको रुपमा किबि खेती शुरु गरिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले जानकारी दिए ।
सुख्खा फलफूल विकास केन्द्रले हिउँदे फलफूलका बिरुवा उत्पादन गर्दै आएको र अहिले किबि खेतीको बगौंचा तयार पारेको उनले बताए । किसानहरुलाई किबि खेतीका रुपमा व्यवारिक ज्ञान दिने उद्देश्य समेत राखिएको भाटले बताए । उनले भने ‘सुख्खा फलफूल विकास केन्द्रमा धेरै प्रजातिका हिउँदे फलफूलका बिरुवाहरु उत्पादन गर्ने गरेका छौं । पछिल्लो समयमा किबि खेतीको पनि हामीले शुरुवात गरेका छौं ।’
अहिले परीक्षणको रुपमा किबिका बिरुवा लगाइएको र अब विक्रि गर्ने हिसाबले किबिका बिरुवा उत्पादन गर्ने तयारी रहेको भाटले बताए । सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा किबीका बिरुवा उत्पादन गरेर किसानहरुलाई विक्रि वितरण गर्ने योजना रहेको छ ।
बैतडीमा किबि खेतीको समेत सम्भावना रहेकाले किबिका बिरुवा नमूना रुपमा बगैंचामा राखिएको भाटले बताए । सुख्खा फलफूल विकास केन्द्रले बर्षेनी हजारौं बिरुवा उत्पादन गरेर विक्रि गर्दै आएको छ । त्यसका साथै किसानहरुलाई फलफूल खेतीका बिषयमा जानकारी दिने गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख भाटले बताए ।





