बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा सञ्चालनमा रहेका फार्मेसी तथा औषधि पसलहरुलाई नियमन गर्न सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । जिल्ला प्रशासनको नेतृत्वमा स्वास्थ्य कार्यालय, पालिकाका स्वास्थ्य शाखाका प्रमुख समेतको सहभागितामा केही दिन पहिला गरिएको अनुगमनका क्रममा औषधि पसल र फार्मेसीहरुले जथाभावी औषधि विक्रिवितरण गर्ने गरेको पाइएकाले नियमन गर्न आग्रह गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहको क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसी तथा औषधि पसलहरुको अनुगमन, निरीक्षण र नियमन गर्ने अधिकारी स्थानीय सरकारलाई रहेकाले सो कार्य गर्न आग्रह गरिएको हो ।
अनुगमनको क्रममा फार्मेसी तथा औषधि पसलहरुले चिकित्सकको प्रेस्किप्सन बिना औषधि विक्रि गरेको, मानव स्वास्थ्यमा प्रभाव पार्ने खालका औषधिहरु विक्रि गर्ने गरेको, चिकित्सकीय अभ्यास गर्ने गरेको पाइएकाले यस्ता खालका कार्यहरुलाई नियमन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
फार्मेसी तथा औषधि पसलहरु सञ्चालन गर्दा औषधिको आयात, सञ्चय, विक्रिवितरण गर्न सम्बन्धित निकायको अनुमति लिए ÷नलिएको अनुगमन गर्नुपर्ने कुरामा स्थानीय सरकारहरुले ध्यान दिनुपर्नेमा प्रशासनले जोड दिएको छ ।
फार्मेसी तथा औषधि पसल सञ्चालकहरुले साइन बोर्ड सबैले देख्ने गरी लगाउनुपर्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्रै औषधि विक्रि गर्नुपर्ने, म्याद गुज्रेका औषधि अलग्गै राख्नुपर्ने, चिकित्सकको प्रेस्किप्सन बिना औषधि विक्रि गर्न नहुने लगायतका कुराहरु पालना गर्नुपर्ने प्रशासनले उल्लेख गरेको छ ।
धेरैजसो औषधि पसल तथा फार्मेसी सञ्चालकहरुले नियम विपरीत औषधिको विक्रि वितरण गरिरहेकाले यो तर्फ स्थानीय सरकारहरुले ध्यान दिनुपर्नेमा प्रशासनले जोड दिएको छ ।







