बैतडी- भारत संग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा गाडी पार्किङका लागि समस्या रहेको छ । पार्किङका लागि ठाउँ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । फराकिलो सडक नभएका कारण दुर्घटनाको जोखिम बढेको हो ।
झुलाघाट नाकामा दैनिक भारतबाट स्वदेश फर्किने अन्य सामान ल्याउनेको भिड हुने गरेको छ । सवारीसाधन सडकमा पार्किङ हुने भएकाले आवतजावतमा समेत समस्या हुने गरेको छ । सवारीसाधन र मान्छेहरुको समेत भिड हुने भएपछि दुर्घटनाको जोखिम बढेको झुलाघाटमा सामान खरिदका लागि पुगेका व्यापारी देव राज भट्टले बताए ।
सीमा नाकामा आवतजावत भइरहने भएकाले भिड हुने र जिपहरु समेत पसलहरु नजिकै पार्किङ गरिने भएकाले समस्या हुने गरेको उनले बताए । पहिले झुलाघाटको नेपाल तर्फको बजार भन्दा २० मिटर यता पट्टीको सडकमा गाडी पार्किङ गरिने भएपनि अहिले जिप व्यवसायीहरुले बजार नजिकैको ठाउँमा रोक्ने गरेका छन् । सो ठाउँमा साँघुरो सडकका कारण कति खेर गाडी महाकालीमा खस्ने हो भन्ने डर छ । जिप व्यवसायीहरु यात्रु चढाउने होडबाजीमा बजार नजिकै पार्किङ गर्ने गरेका र यसले कुनै दिन दुर्घटना निम्ताउने व्यापारीहरुको भनाइ छ ।
जिप मोटर साइकल लगायतका अन्य सवारीसाधनको झुलाघाट नाकामा चाप हुन्छ । व्यवस्थापनमा प्रहरीलाई समेत सास्ती छ । सीमा प्रहरी झुलाघाटले भनेको समेत यातायात व्यवसायीहरुले नमान्ने भएकाले समस्या भएको हो ।सांघुरो सडकमा जोखिम मोलेर जिप व्यवसायीहरुले पार्किङ गर्ने गरेका हुन् ।
सशस्त्र प्रहरीले पनि व्यवस्थापनमा चुनौती हुने गरेको बताए । झुलाघाट नाकामा पार्किङको व्यवस्था नहुँदा समस्या छ । यसका लागि सम्बन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ । सवारी साधन राख्ने उचित व्यवस्था भए दुर्घटनाको जोखिम कम हुने व्यापारीको भनाई छ ।





