बैतडी- बैतडीका किसानहरुले पालेका पशु चौपायामा लम्पी स्कीन रोग प्रकोप देखिएको छ । जिल्लाको शिवनाथ र सुर्नया गाउँपालिका तथा मेलौली नगरपालिकाका अधिकांश ठाउँमा किसानले पालेका पशु चौपायामा यो प्रकोप देखिएको हो । पशु चौपायामा लम्पी स्कीन रोग देखा परेपछि किसानहरु चिन्तीत भएका छन् ।गाई, गोरु ,भैंसिमा यो रोग देखा परेको बताइएको छ ।
धेरै पशुहरुमा लम्पी स्कीनको संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका डाक्टर विसाल पाठकले जानकारी दिए । यो रोग लागेपछी पशुहरुमा उच्च ज्वरो आउने, ५०देखी ८० प्रतिशत दुध उत्पादन घट्ने, पशुहरुको सरीरको तल्लो भाग सुन्नीने, गिर्खाहरु देखिने, व्याउने पशुहरु तुहिने तथा बाझोपन देखीने समस्या आउने गरेको उनले बताए ।
लम्पी स्कीन रोगको प्रकोप लामखट्टुे, झिंगा तथा किर्नाको टोकाइबाट हुने गरेकोले संक्रमण फैलन नदिन लामखुट्टे, झिंगा र किर्नाको टोकाईबाट पशुहरुलाई बचाउनु पर्ने डाक्टहरुको भनाई छ । यसको खोप समेत नेपालमा उपलब्ध नभएको बताइएको छ ।





