बैतडी- बैतडीको पुर्चौडी जाने सडक स्तरीय नहुँदा यातायात व्यवसायी मारमा परेका छन् । श्रीभावर -हाट सडक खण्ड स्तरीय नहुँदा यातायात व्यवसायी मारमा परेका हुन् । लामो समय देखि सो सडक खण्डमा गाडी सञ्चालन गरिरहेका यातायात व्यवसायी रणबहादुर विष्टले सडक स्तरीय नहुँदा आफहुरु धेरै समस्यामा परेको बताए ।
कच्ची सडकमा सवारीसाधनलाई धेरै मार परेको उनले बताए । सडकमा सञ्चालन हुने गाडी बेला बेला बिग्रिने गरेकाले ब्रिगेका गाडी मर्मतमै धेरै रुपैँया खर्च हुने गरेको व्यापारी तथा यातायात व्यवसायी विष्टले बताए ।‘गाडी चल्ने बाटो ठिक नहुँदा हामीहरु सार्है मारमा छौँ,कहिले गाडीका इन्जीन जान्छन, कहिले पट्टा टुट्छन, गाडी मर्मतमै धेरै खर्च छ, के कमाउने के बचाउने समस्या छ,’ उनले भने । बाटोको अवस्था एकदमै नाजुक भएकाले आफुहरु समस्यामा परेका अर्का व्यापारी जनक गडालले बताए ।
सिंगल कटिङ रोडमा लामो समय देखि समस्या भोग्दै आएका उनले बताए । ‘सिंगल रोडमा अप्ठारो नै छ, लामो समय देखि भोगि रहेका छौँ, झेलिरहेका छौँ, पानि परे सडकसतह चिप्लो हुने भएकाले समस्या हुन्छ,’ उनले भने । पानीले सडक हिलाम्य भएर गाडी फस्ने गरेकाले मेसिन ल्याएर गाडी निकाल्ने गरेका उनले बताए । अहिले डबल कटिङ भइरहेका ठाउँमा पनि धेरै समस्या रहेको व्यापारी गडालले बताए ।
श्रीभावर देखि हाट सम्म १५ किलोमिटर सडकखण्डको धेरै ठाउँमा गाडी निकाल्न अप्ठारो हुने गरेको गाडी चालकहरुले बताए । कोटिला, गुफाखोला, भुमिराज लगायतका क्षेत्रमा धेरै अप्ठारो हुने गरेको उनिहरुको भनाई छ । बाटो फराकिलो नहुँदा गाडी निकाल्न समस्या हुने गरेको ट्रक चालक जसमल साउदले बताए ।
‘गाडी निकाल्न अप्ठारो हुन्छ, सांघुरो रोड भएकाले, गाडीको जम्काभेट भए निकाल्न समस्या हुन्छ,’ उनले भने । पानी परेको समयमा यो सडक खण्डमा गाडी सञ्चालनका लागि समस्या हुने गरेको छ । बर्खायाममा जोखिम मोलेर गाडी चलाउँदा दुर्घटनाको डर समेत हुने गरेको चालक साउदले बताए ।
सडक स्तरोन्तिका लागि स्थानीय सरकारले चासो नदिने गरेको त्यहाँका यातायात व्यवसायी एवं व्यापारीहरुको गुनासो छ । ‘स्थानीय सरकार छ, पहिला पनि थियो, केहि काम छैन् यीनीहरुको, सहज यात्राका लागि स्तरीय बाटो बनाउन तर्फ कसैको ध्यान छैन्,’उनीहरुले आक्रोसित हुँदै भने । अहिले श्रीभावर हाट सकडखण्ड कालोपत्रे समेत भइरहेको छ । श्रीभावर- हाट सडक खण्डको साढे ८ किलोमिटरमा कालोपत्रको काम भइरहेको र पाँच किलोमिटरमा कटिङको काम चलेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । मौसमले साथ दिए साढे ८ किलोमिटर असार सम्म कालोपत्रे भइसक्ने बताइएको छ ।





