बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल सम्म गर्भवती तथा सुत्केरी महिलाहरुलाई लग्नुपरेमा निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरेको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
प्रसुती व्याथा लागेका आमाहरुलाई अन्यत्र रेफर गर्नुपरेमा,सुत्केरी अवस्थामा जटीलता आएर अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएमा उनीहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने गरिएको उपाध्यक्ष बोहराले बताइन् । उनले भने ‘मातृमृत्यु तथा शिशु मृत्यु रोकथामका लागि हामीले यो प्रयास गरेका हौं । अबका दिनमा यसलाई अझै प्रभावकारी बनाउने काम गर्छौं ।’
यस्तै दुर्घटनाका गम्भीर घाइतेहरुलाई समेत निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गाउँपालिकासंग अहिले दुईओटा एम्बुलेन्स रहेका छन् । आवश्यकता अनुसार गर्भवती तथा सुत्केरी आमाका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
एउटा एम्बुलेन्स वासुलिंग स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको छ भने अर्को रौलेश्वर स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको छ । अन्यको हकमा भने एम्बुलेन्स व्यवस्थापन समितिले तोकेको भाडा अनुसार एम्बुलेन्स उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।





