Sagun Khabar
आज चैतेदशैं, बैतडीका शक्तिपीठ तथा मन्दिरमा जात्रा 

बैतडी –आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ ।

वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

चैते दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गर्दछ । देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित जात्रा हुने गर्दछ । यस्तै त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी लगायतका देवीका मन्दिरहरुमा जात्रा लाग्ने गर्दछ । 

यस्तै चैतेदशैंको अवसरमा सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ्ग लगायतका मन्दिरहरुमा समेत जात्रा लाग्ने गर्दछ । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । 

बसाइँसराई गरेर गएकाहरु पनि चैतेदशैंमा पूजापाठका लागि पुख्र्यौली थलोमा फर्कने गरेका छन् । चैतेदशैंका कारण गाउँघरमा हिजोआज रमाइलो वातावरण बनेको स्थानीयहरुले बताएका छन् । 

चैते दशैँ पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update