Sagun Khabar
बैतडीको पाटनमा ‘ख’वर्गको एम्बुलेन्स, दोगडाकेदार पनि खरीदको तयारीमा 

बैतडी –बैतडीको पाटन नगरपालिकाले ‘ख’वर्गको एम्बुलेन्स खरीद गरेको छ । गत आर्थिक बर्षमै एम्बुलेन्स खरीदका लागि बजेट विनियोजन भएको र खरीद प्रक्रियाका कारण यो बर्ष मात्रै एम्बुलेन्स भित्रिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । 

नगरपालिकाले १९ लाख ९० हजारमा खरीद सम्झौता गरी एम्बुलेन्स खरीद गरिएको जनाइएको छ । सो एम्बुलेन्समा उपकरण जडानमा थप ३ लाख खर्च भएको भट्टले बताए । एम्बुलेन्स सञ्चालन गर्नका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिसकिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

नेपाल सरकारले ‘क’वर्ग र ‘ख’वर्ग एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाउने नियम बनाएपछि नगरपालिकाले ‘ख’वर्गको एम्बुलेन्स खरीद गरेको हो । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रसंग रहेको पुरानो एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीमार्फत सञ्चालन गरिने भएको छ । सो एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिसकिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । 

यस्तै बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि ‘ख’वर्गको एम्बुलेन्स खरीदको तयारी गरेको छ । नेपाल सरकारले ‘क’वर्ग र ‘ख’वर्गको एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाउने नियम बनाएपछि चाल आर्थिक बर्षमा एम्बुलेन्स खरीदका लागि २० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । 

पालिकामा ‘ख’वर्गको एम्बुलेन्स खरीदका लागि चालु आर्थिक बर्षमै प्रक्रिया शुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए । 

जिल्लामा सञ्चालनमा रहेका ‘ग’ वर्ग र ‘घ’वर्गका एम्बुलेन्सहरुलाई पनि स्तरोन्नती गरेर सञ्चालनमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । यसका लागि जिल्ला एम्बुलेन्स समितिले पहिला नै निर्देशन दिइसकेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update