बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ धुलिधारमा बर्थिङ सेन्टर सञ्चालनको माग गरिएको छ । स्वास्थ्य संस्थाबाट टाढा रहेको सो गाउँमा बर्थिङ सेन्टर नहुँदा समस्या भएकाले पालिकासंग बर्थिङ सेन्टर सञ्चालनका लागि माग गरिएको स्थानीय रेखा बिष्टले बताइन् ।
गाउँमा बर्थिङ सेन्टर नहुँदा आमाहरुले घरमै बच्चा जन्माउनुपर्ने अवस्था रही आएको उनले बताइन् । रातिको समयमा व्याथा लागेमा स्वास्थ्य संस्था पुर्याउन निकै मुस्किल हुने गरेको बिष्टले बताइन् । उनले भनिन् ‘हाम्रो गाउँमा बर्थिङ सेन्टर नहुँदा समस्या भएको छ । समस्या समाधानका लागि पालिकालाई आग्रह गरेका छौं ।’
धुलिधारमा बर्थिङ सेन्टर नहुँदा गर्भवती आमा जोखिममा रहेका महिला स्वास्थ्य स्वयंसेविका नारु बिष्टले बताइन् । गाउँमा बर्थिङ सेन्टर नहुँदा संस्थागत सुत्केरी हुनेको संख्या समेत कम रहेको उनले बताइन् । उनले भनिन् ‘आमालाई व्याथा लागेपछि स्वास्थ्य संस्था पुर्याउन निकै मुस्किल हुने गरेको छ । टाढाको स्वास्थ्यचौकीमा पुर्याउन समस्या हुने गरेकाले गाउँमै बर्थिङ सेन्टर सञ्चालनको माग गरेका छौं ।’
धुलिधार गाउँबाट रौलेश्वर स्वास्थ्यचौकी पुग्न दुई घण्टा बढी लाग्ने गरेको स्थानीय सरस्वती बिष्टले बताइन् । गाउँमा बर्थिङ सेन्टर नहुँदा गर्भवती आमाहरुलाई स्वास्थ्य चेकजाँचमा समेत समस्या भएको उनले बताइन् ।
धुलिधार गाउँमा बर्थिङ सेन्टरका लागि भवन भने निर्माण गरिसकिएको छ । बर्थिङ सेन्टरका लागि आवश्यक औजार उपकरण र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने ‘धुलिधार भवन निर्माण भइसकेको छ । तर औजार उपकरणको अभाव भएको छ । यसका लागि पालिकासंग बजेटको माग गरिरहेका छौं ।’
धुलिधारमा बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले प्रतिबद्धता व्यक्त गरे ।





