Sagun Khabar
सीमा नाका झुलाघाटमा कडाई, कोरोना परीक्षण अनिवार्य 
फाइल फोटो

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भएर स्वदेश फर्कनेहरुको अनिवार्य कोरोना जाँच भइरहेको छ । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सीमा नाकामा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । 

भारतबाट स्वदेश फर्कने नागरिकको सीमा नाकामा रहेको हेल्थ डेस्क मार्फत नियमित रुपमा एन्टीजेन विधिबाट कोरोना परीक्षण भइरहेको सूचना अधिकारी लेखकले बताए । 

मंगलबार मात्रै सीमा नाकाबाट नेपाल आउन लागेका एकजना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि नाकामा कडाई गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । मंगलबार त्रिपुरासुन्दरी जात्रामा सहभागी हुने उद्देश्यसहित नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

सीमा नाकाबाट स्वदेश फर्कनेहरुलाई अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ । सीमा नाकामा कोरोना परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएपछि मास्क अनिवार्य गरिएको सूचना अधिकारी लेखकले बताए । 

झुलाघाट नाकाबाट अहिले बिसुका लागि घर फर्कनेको संख्या बढेको छ । स्वदेश फर्कनेहरुलाई अनिवार्य मास्क लगाएर मात्रै प्रवेश गर्न दिने र उनीहरुको कोरोना परीक्षण गर्ने गरिएको बताइएको छ । 

पछिल्लो समयमा कोरोना संक्रमणदर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ । कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update