बैतडी –बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरीपरीका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
शुक्रबारदेखि सञ्चालन हुने एसईईलाई मार्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए ।
ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ । यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा विक्रि नगर्न आग्रह गरिएको छ । कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु विक्रि गरेमा कारवाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै एसईई अवधिभर बैतडीको देहीमाण्डौं क्षेत्रामा मदिराजन्य पदार्थको कारोबार नियन्त्रण गर्न वडा कार्यालयले आग्रह गरेको छ । दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले एक सूचना जारी गर्दै परीक्षा अवधिभर मदिराजन्य पदार्थको कारोबारमा नियन्त्रण गर्न आग्रह गरेको हो ।
यस्तै परीक्षार्थीहरुको सहजताका लागि दैनिक उपभोग्य वस्तु तोकिएकै दररेटमा विक्रि गर्न आग्रह गरिएको वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । यस्तै परीक्षा अवधिभर परीक्षार्थीहरुबाट सहुलियत भाडा लिन समेत आग्रह गरिएको उनले बताए ।





