Sagun Khabar
बुडाल  मृत्यु प्रकरणः आरोपितलाई धरौटीमा रिहा गरेको भन्दै पीडित पक्ष आन्दोलित

बैतडी- जिवन बुडाल  मृत्यु प्रकरणका मुख्य आरोपित मध्ये तीन जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको भन्दै पीडित पक्ष  आन्दोलित भएको छ । शुक्रबार पीडित पक्षले जिल्ला अदालत र प्रशासन कार्यालय अगाडी  धर्ना दिएका छन् ।

अदालतले अन्तिम फैसला गरिनसकेको भएपनि मृतककी पत्नी सहित पीडित पक्षले धर्ना तथा जुलुस निकालेका हुन् । अपराधिलाई  कारबाही हुनुपर्ने उनिहरुको  माग छ । दशरथचन्द नगरपालिका १०  खडेनीका बुडाल फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका थिए।

बुडाल  सोहि दिन राति ९ बजे मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् । दोगडाकेदार गाउँपालिका–४ जाडाबगडस्थित चमेलीया नदी किनारमा साथीहरुसंग पिकनिक गएका बुढाल मृत अवस्थामा फेला परेका थिए । उनि मृत भेटिएको स्थानमा विष्फोटक पदार्थ समेत फेला परेको थियो ।

उक्त विष्फोटक पदार्थ माछा मार्न प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ । बुढालको मृत्यु पछि पीडित पक्षले उनिसंगै पीकनिक गएका १२ जना बिरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका थिए । आरोपितहरूलाइ प्रहरीले फागुन १४ गते पक्राउ गरेको थियो । १२ मध्ये तीन जाना पीकनिकमा सहभागिका लागि खाना बनाउने काममा भएको बुझिएको छ भने एक एक गाडी चालक हुन् ।मृत्यु प्रकरणमा मुख्य दोषिको आरोप लागेका ७ जनामध्ये जिल्ला अदालत बैतडीले तीन जानालाई बिहीबार जनही एक लाख ५० हजार धरौटीमा रिहा गरेको छ भने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले आरोपित गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, अर्जुनसिंह रावल र भीमसिंह गठुन्नालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्रीलाई धरौटीमा रीहा गरेको छ । अदालतले घटनामा संलग्न भनिएका नविनसिंह ठगुन्ना र श्यामसिंह ऐरीलाई जनही ५० हजार धरौटीमा रीहा गरेको छ भने मोहन सिंह ठगुन्ना, केशबसिंह बुढाल र भुवनराम लुहारलाई  तारेखमा रिहा गरेको छ  । 


 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update