बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पसका छात्राहरुले क्याम्पसमा सेटेनरी प्याडको व्यवस्था गर्नुपर्ने नगरपालिकासंग माग गरेका छन् । क्याम्पसमा सेनेटरी प्याडको व्यवस्था नहुँदा छात्राहरुलाई निकै समस्या हुने गरेकाले क्याम्पसमा नगरपालिकाका तर्फबाट सेनेटरीको व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको मणिलेक बहुमुखी क्याम्पसकी छात्रा हरिना भट्टले बताइन् ।
क्याम्पसमा सेनेटरी प्याडको व्यवस्थापन नहुँदा महिनावारी भएको बेला छात्राहरुलाई निकै समस्या भएको क्याम्पसकी अर्की छात्रा मीना भट्टले बताइन् । नगरपालिकाभित्र एउटा मात्रै क्याम्पस रहेकाले सो क्याम्पसमा नगरपालिकाका तर्फबाट सेनेटरी प्याडको व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताइन् । उनले भनिन् ‘कयाम्पसमा सेनेटरी प्याडको व्यवस्था नहुँदा छात्राहरुलाई निकै समस्या हुने गरेको छ । त्यसैले हामीले नगरपालिकासंग सेनेटरी प्याडको व्यवस्थापनका लागि माग गरेका छौं ।’
क्याम्पसमा सेनेटरी प्याडको व्यवस्था नहुँदा महिनावारी भएको बेलामा छात्राहरुलाई क्याम्पसमा निकै असहज हुने गरेको छ । मेलौली नगरपालिकाको आयोजना तथा रेडियो निङ्गलाशैनीको सहजीकरणमा शुक्रबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा छात्राहरुले यस्तो समस्या राखेका हुन् ।
क्याम्पसमा सेनेटरी प्याडका बिषयमा देखिएको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने नगर प्रमुख भीमबहादुर चन्दले बताए । कक्षा १० सम्मका विद्यालयहरुमा पालिकाले निशुल्क रुपमा सेनेटरी प्याड वितरण गरिरहेको बताउँदै उनले क्याम्पसका छात्राहरुका लागि पनि निशुल्क प्याडको व्यवस्थापन गरिने बताए ।
सेनेटरी प्याड सुरक्षित र मार्यादित महिनावारीसंग जोडिएको बिषय भएकाले सेनेटरी प्याडको व्यवस्थापनका लागि आफूहरुले माग गरेको छात्राहरुको भनाइ रहेको छ ।





