Sagun Khabar
ब्युटिसियन बनेर आत्मनिर्भर बन्ने योजनामा महिला 

बैतडी –बैतडीका केही महिलाहरु ब्युटिसियन बनेर आत्मनिर्भर बन्ने योजनामा लागेका छन् । ब्युटिसियन सम्बन्धि स्तरोन्नती तालिममा सहभागी भएका महिलाहरुले ब्युटिसियनाबाटै आत्मनिर्भर बन्ने योजनामा रहेको बताएका हुन् । 

घरेलु तथा साना उद्योग कार्यालय बैतडीले ब्युटिसियनको आधारभूत तालिम लिएका महिलाहरुका लागि दुई महिने ब्युटिसियन स्तरोन्नती तालिम सञ्चालन गरेको छ । तालिमका सहभागीहरुले ब्युटिसियन बनेर जिविकोपार्जन गर्ने योजना रहेको बताएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको दुई महिने ब्युटिसियन स्तरोन्नती तालिममा १५ जना बढीको सहभागिता रहेको छ । यो तालिमले आफूहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने तालिमकी सहभागी अनिता शाह ज्ञवालीले बताइन् । उनले भनिन् ‘मैले आधारभूत तालिम लिइसकेकी छु । अहिले स्तरोन्नती तालिममा सहभागी भएकी छु । यसपछि ब्युटिपार्लर पसल खोल्ने योजना बनाएकी छु ।’

ब्युटिपार्लर सम्बन्धि सीप सिकेर आफूहरुलाई आत्मनिर्भर बन्नका लागि सहज हुने तालिमकी सहभागी कल्पना रानाले बताइन् । ब्युटिपार्लर सम्बन्धि सीपले व्यक्तिगत र सामाजिक रुपमा फाइदा हुने उनको धारणा रहेको छ । उनले भनिन् ‘ब्युटिसियन सम्बन्धि तालिम निकै व्यवहारिक र व्यवसायिक छ । यसले हामी महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा लैजान प्रेरित गरेको छ ।’

ब्युटिसियन सम्बन्धि तालिम सिकेका महिलाहरुले युनियन समेत गठन गर्ने बताउँदै रानाले आफूहरु व्यवसायिक रुपमा अगाडि बढ्ने योजनामा रहेको बताइन् । 

सीपयुक्त तालिम दिएर महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने उद्देश्यसहित ब्युटिसयनको स्तरोन्नती तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका बरिष्ठ उद्यम सहजकर्ता हरि जोशीले बताए । धनगढीबाट प्रशिक्षक बोलाएर तालिम सञ्चालनमा रहेको उनले बताए । उनले भने ‘स्थानीयस्तरमा सञ्चालन गर्न सकिने व्यवसायलाई ध्यानमा राखेर हामीले तालिम सञ्चालन गरेका हौं । यसले गरिबि निवारणमा केही सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ ।’
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update