बैतडी –समुदायस्तरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न तल्लीन रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोगडाकेदार गाउँपालिकाले प्रोत्साहन भत्ता वितरण गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरिरहेको कामको मूल्यांकन गर्दै पालिकाका तर्फबाट प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।
पालिकाभरी रहेका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ८ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए ।
चालु आर्थिक बर्षमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि विनियोजन गरेको बजेट अनुसार उनीहरुलाई प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । दोगडाकेदार गाउँपालिकाले प्रत्येक बर्ष महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता दिँदै आएको उनले बताए । यो बर्ष महिला स्वास्थ्य स्वयं सेविका दिवसको दिन सबैलाई प्रोत्साहन भत्ता वितरण गरिएको नाथले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँघरमा स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउँदै आएका छन् । गर्भवती महिलाहरुलाई आइरन चक्की वितरणदेखि लिएर संस्थागत सुत्केरीको संख्या बढाउन पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रही आएको छ ।
यस्तै बालबालिकाहरुलाई भिटामिन ए,जुकाको औषधि खुवाउने अभियानमा समेत महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । गाउँघर क्लिनिक, खोप क्लिनिक सञ्चालनमा समेत उनीहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।





