Sagun Khabar
नगरपालिका स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), उपप्रमुख कौशिला चन्द, प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द लगायतका प्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । 

नगरपालिकाले यही चैत १४ गतेदेखि विभिन्न कार्यक्रम गरेर नगरपालिका स्थापना दिवस मनाइरहेको छ । चैत २४ गते नगरपालिका स्थापना दिवसको औपचारिक कार्यक्रम गर्ने तयार रहेको सूचना अधिकारी बिष्टले बताए । 

सरकारले २०५३ साल चैत १४ गते नगरपालिका स्थापना गर्ने निर्णय गरेको र चैत २४ गते कार्यालय स्थापना भएकाले १४ गतेदेखि २४ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको सूचना अधिकारी बिष्टले बताए । 

नगरपालिका स्थापना दिवसकै अवसर पारेर सोमबार जिल्ला कारागारका कैदीबन्दीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ । यस्तै चैत २१ गते नगरपालिका कर्मचारी र जनप्रतिनिधि तथा शिक्षकहरुबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरिने तयारी भएको छ । 

चैत २२ र २३ गते नगरपालिका मातहतका कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम तय भएको सूचना अधिकारी बिष्टले बताए । चैत २४ गते नगरपालिका स्थापना दिवसको औपचारिक कार्यक्रम गरिने बताइएको छ । 

दशरथचन्द नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाइरहेको सूचना अधिकारी बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update