बैतडी –किसानहरुले पालेका घरपालुवा पशुचौपायामा लम्पी स्कीनको प्रकोप देखिएपछि पाटनका मेयर गौरीसिंह रावल पशु चिकित्सकसहितको टोली लगेर गाउँमा पुगेका छन् ।
लम्पी स्कीन रोगका कारण नगरपालिकाका विभिन्न वडामा किसानहरुले पालेका पशु चौपायामा क्षति हुन थालेपछि पशु चिकित्सकको टोलीसहित आफूहरु गाउँमा पुगेको उनले बताए ।
आज पाटन नगरपालिकाको वडा नं ३ मा किसानहरुको घरदैलोमा पुगेर बिरामी पशुहरुको उपचार गरिएको छ । भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्स डा.विशाल पाठकसहितको पशु प्राविधिकहरुको टोलीले बिरामी पशुहरुको उपचार गरेको हो ।
लम्पी स्कीन भाइरल रोग भएकाले यसको खासै औषधि उपचार नहुने भएपनि यसको प्रकोप कम गर्नका लागि केही उपाय भने अपनाउन सकिने बताइएको छ । लम्पी स्कीनका कारण पशुचौपायाहरुमा इन्फेक्सन भएका ठाउँमा थप इन्फेक्सन नहोस भन्नका लागि केही उपचार गर्न सकिने भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए ।
लम्पी स्कीन रोग विरुद्धको अहिले सम्म खोप बनी नसकेकाले यसको रोकथामका लागि निकै समस्या हुने गरेको उनले बताए । लम्पी स्कीन अहिले जिल्लाभरी फैलिएको र पाटनका केही वडामा पशु चिकित्सकसहितको टोलीले सेवा दिएको उनले बताए ।
लम्पी स्कीन रोग लागेका पशुहरुमा ज्वरो आउने, र्याल काढ्ने, छालामा गिर्खा आउने, सुनिन्ने र विभिन्न ठाउँमा इन्फेक्सन भएर घाउ पाक्ने लगायतका लक्षणहरु देखा पर्ने गर्दछन् । यस्ता लक्षण देखिएका पशुहरु मर्ने सम्भावना समेत रहेको हुन्छ ।
किसानहरुका समस्यालाई ध्यानमा राखेर नगरपालिकाका तर्फबाट पशु चिकित्सक र पशु प्राविधिक सहितको टोली लगेर आफूहरु गाउँमा पुगेको मेयर रावलको भनाइ छ । किसानहरुको घरदैलोमै पुगेर प्रकोप नियन्त्रणका बिषयमा जानकारी दिनुका साथै प्राविधिकहरुको टोलीले उपचार समेत गरेको उनले बताए ।





