बैतडी –बैतडीमा पछिल्लो समयमा किशोरी तथा महिलाहरु बेपत्ता हुने क्रम बढेको छ । गएको एक साताभित्रै जिल्लाका विभिन्न ठाउँबाट किशोरी र युवती गरेर ३ जना बेपत्ता भएकोमा दुई जना अझै फेला परेका छैनन् ।
पाटन नगरपालिका ४ जेउड्याकी १५ बर्षीया गोमती लावड फेला परेपनि अन्य दुई जना भने अझै फेला परेका छैनन् । मानसिक सन्तुलन ठीक नभएकी लावडको जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत उद्धार गरिएको हो ।
यही चैत १६ गतेबाट बेपत्ता भएकी मेलौली नगरपालिका १ जर्कुकी २० बर्षीया पार्वती खत्री नायक अझै फेला परेकी छैनन् । पार्वतीको खोजीका लागि आफन्तले प्रहरीमा निवेदन समेत दिएका छन् ।
यस्तै सोमबार मात्रै मेलौली नगरपालिका १ सिराडकी लक्ष्मी पोखरेल सम्पर्क विहिन भएकी छन् । एक बर्षे दुधे बालक छोडेर उनी बेपत्ता भएकी हुन् । उनको खोजीका लागि प्रहरीमा निवेदन दिएको लक्ष्मीका देवर निराजन पोखरेलले बताए ।
पछिल्लो समयमा किशोरी तथा युवतीहरु बेपत्ता हुने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा अहिले सम्म बैतडीमा ४७ महिला बेपत्ता भएकोमा ३० जना फेला परेका छन् । यस्तै १८ बालिका बेपत्ता भएकोमा ७ बालिका फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
चालु आर्थिक बर्षको अहिले सम्म ४ बालक बेपत्ता भएकोमा ३ जना फेला परेका छन् भने ५ पुरुष बेपत्ता भएकोमा १ पुरुष मात्रै फेला परेका छन् ।





