बैतडी - बैतडी सभाहल निर्माण सम्पन्न नहुँदै जीर्ण हुन थालेको छ । जिल्ला सदरमुकाममा निर्माण भइरहेको जिल्ला सभाहल निर्माण सम्पन्न नहुँदै जीर्ण हुन थालेको हो । दशरथचन्द नगरपालिका वडा नं ४ गढी टुडीखेलको छेउमा निर्माण भइरहेको सभाहल वर्षाै देखि अलपत्र छ ।
अलपत्र सभाहलको अहिले छत भत्कीन थालेको छ । दुई तले उक्त भवनको छत अहिले जीर्ण भएर सिमेन्टका टुक्रा, टाक्रि झर्न थालेका छन् । दुइ तले भवनको माथि छत हालिएको छ तर वालको काम सम्पन्न भएको छैन् ।
सभाहलको छत भत्कीन सुरु भएर छतमा प्रयोग भएका सरिया सिमेन्ट झर्न थालेको छ । निर्माण सुरु भएको ६ वर्ष बित्नलाग्दा पनि भवन सम्पन्न हुन सकेको छैन् । यो सभाहल सहरी विकास मन्त्रालयको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरि २०७४ सालमा निर्माण सुरु गरिएको थियो ।
खामपाते शेर्पा निर्माण सेवा कम्पनी संग २ करोड २३ लाख १४ हजार लागतमा ठेक्का समझौता भएर काम शुभारम्भ भएको थियो । २०७४ साल पुष १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सभाहल निमार्ण कार्य शुभारम्भ भएपनि अहिले सम्म निर्माण कार्यले पूर्णता पाएको छैन् । निर्माणको जिम्मा पाएका ठेकेदार सम्पर्क विहिन छन् ।
निर्माणको जिम्मा पाएका ठेकेदार दावा शेर्पा अहिले सम्पर्कमा छैन्न भने उनले पेटिमा काम गराइरहेका अर्का ठेकेदार पनि फरार रहेका बातइन्छ । यो योजनामा तीन पटक म्याद समेत थप भइसकेको जिल्ला समन्वय समितिको कार्यालयमा कार्यरत ओभरसियर हेमन्त राज बोकटीले बताए । योजनामा २०७८ चैत ३० गते अन्तीम पटक म्याद थप भएको उनले बताए ।
सरोकारवाला निकायले ध्यान नदिदा भवन अलपत्र परेको नागरिकहरुको गुनासो छ । जिल्ला सदरमुकाम जस्तो ठाउँमा भइरहेका विकास निर्माणका काम अलपत्र पर्दा समेत सरोकारवाला निकाय मौन बसेका भन्दै अहिले नागरिक स्तरबाट आलोचना भइरहेको छ । जिल्ला समन्वय समितिको कार्यालय रहेको ठाउँमा निर्माणाधिन सहाभहल समयमा सम्पन्न नहुँदा समस्या भएको छ ।
बढि जनसंख्या अटाउने जिल्लाकै सबैभन्दा ठुलो सभाहल अलपत्र पर्दा बैठक, सभासमारोह लगायतका कार्यक्रम गर्न होटेल खोज्नु पर्ने बाध्यता रहेको जिल्ला समन्वय समिति उपप्रमुख दमन बहादुर कुँवरले बताए । ‘जिल्लाकै सबै भन्दा ठुलो सभाहल वर्षो देखि अलपत्र छ, यसमा कसैको ध्यान छैन, भवन अभावले कार्यक्रम गर्न होटेलमा जानु पर्ने बाध्यता छ,’ उनले भने । सभाहल समयमा सपन्न नहुुँदा जिल्लामा नै समस्या भएको उनको भनाई छ ।
यस्तै भवन अभावले जिल्ला समन्वय समितिलाई पनि समस्या भएको उपप्रमुख कुँवरले बताए । पञ्चायतकालमा बनेको जिल्ला समन्वय समितिको कार्यालय रहेको भवन पानी परेका बेला छुहिने भएकाले समस्या हुने गरेको उनले बताए । यो भवनमा सारै समस्या छ, पानी परे छुहिन्छ,भवन जीर्ण भएकाले अप्ठारो भएको छ’,उनले भने । सभाहल निर्माणको कार्यले पूर्णता पाए बसाइ व्यवस्थापनमा सहज हुने समन्वय समितिको विश्वास छ । तर सभाहल भवन निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन भएकाले समस्या भइरहेको छ ।
जिल्ला समन्वय समितिले पनि पटकपटक ताकेता गरेको बताइन्छ । आफुहरु जिम्मेवारीमा आएपछि ठेकेदार विचमा सम्पर्कमा आएर काम गर्ने बताएपनि अहिले सम्म काम सुरु हुन नसकेको कुँवरले बताए । सभाहल अलपत्र परेको भन्दै सबै सरोकारवाला निकायले यसका लागि पहलकदमी गर्नुे पर्ने उनको भनाई थियो ।
सभाहल अलपत्र परेको वर्षाै बितिसक्दा पनि ठेकेदार कार्वाहीमा परेका छैनन् । ठेकेदारका कारण महत्वपूर्ण आयोजनाहरु अलपत्र परेका बेला समेत सरोकारवालहरुले कार्वाहीको दायरामा नल्याउनुले नागरिकहरुले सास्ती खेप्नु परिरहेको छ ।





