बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कडाई गरिएको छ । सीमा नाका झुलाघाटबाट स्वदेश फर्कनेहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि कडाई गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले बताए ।
झुलाघाट नाकाबाट स्वदेश फर्कनेको अनिवार्य कोरोना जाँच गर्नुका साथै स्वास्थ्यका मापदण्ड अपनाएर मात्रै स्वदेश आउन दिने गरेको लेखकले बताए । झुलाघाट नाकाबाट अहिले बिसुका लागि घर फर्कनेको संख्या बढ्दै गएकाले उनीहरु सबैको कोरोना जाँच गर्ने गरिएको छ ।
झुलाघाट नाकामा कोरोना जाँच गर्दा केही व्यक्तिमा कोरोना पुष्टि भएकाले उनीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर होम आइसोलेसनमा पठाएको लेखकले बताए ।
झुलाघाटस्थित हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना परीक्षण गरेर मात्रै स्वदेश आउन दिने गरिएको उनले बताए । उनले भने ‘हामीले सीमा नाकामा उच्च सर्तकता अपनाएका छौं । सीमाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको कोरोना परीक्षण गरिरहेका छौं । मास्क अनिवार्य प्रयोग गर्न भनेका छौं ।’
भारतको उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा सतर्कता अपनाइएको हो । यसका साथै अहिले जिल्लाभरी कोरोना विरुद्धको बुस्टर डोज लगाउने कार्य समेत भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।
कोरोना विरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेका ५५ बर्षमाथिका सम्पूर्ण नागरिक, १२ बर्षमाथिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई खोप लगाउने कार्य भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । यस्तै पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका व्यक्तिहरुलाई दोश्रो बुस्टर डोज लगाउन आग्रह गरिएको उनले बताए । बैतडीमा २ लाख बढी नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् ।





