बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ का महिलाहरु सिलाई कटाई सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् । वडा नं ५ को कार्यालयले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २५ जना महिलाहरुलाई सिलाई कटाई सम्बन्धी तीन महिने तालिम दिइरहेको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष यज्ञराज भट्टले बताए ।
महिलाहरुलाई सीपयुक्त काम गरेर जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष भट्टले बताए । उनले भने ‘हामीले गाउँका महिला दीदी बहिनीहरुलाई सिलाई कटाई सम्बन्धी तालिम दिइरहेका छौं । यसले उनीहरुको जिविकोपार्जनमा सहयोग पुग्ला भन्ने हाम्रो विश्वास छ ।’
सिलाई कटाई सीप सिकेर आफूहरु सिलाई व्यवसाय सञ्चालन गर्ने सोचमा रहेको सिलाई कटाई तालिममा सहभागी लक्ष्मी नाथले बताइन् । उनले भनिन् ‘सिलाई कटाई तालिमले हामीहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन सहयोग गर्नेछ । यो सीप सिकेर हामी आत्मनिर्भरताको बाटोमा लाग्नेछौं ।’
सिलाई कटाई सीप सिकेर व्यवसाय सञ्चालन गर्न सहज हुने तालिममा सहभागी जानकी जोशी भट्टले बताइन् । महिलाहरुलाई घरको चुलोचौकोबाट बाहिर निस्कन यो तालिमले महत्वपूर्ण सहयोग गर्ने उनले बताइन् । उनले भनिन् ‘महिलाले घरको काम बाहेक अरु काम गर्न सक्तैनन् भन्ने मान्यतालाई चिर्दै हामी सिलाई कटाई सीप सिकिरहेका छौं ।’
तालिममा सहभागी महिलाहरुलाई आधारभूत सिलाई कटाई सम्बन्धी सीप सिकाइरहेको प्रशिक्षक धनमती तेलीले बताइन् । तालिममा सहभागीहरुलाई लुगा सिलाउने गरी सक्षम बनाइने उनले बताइन् । उनले भनिन् ‘हामीले तालिममा सहभागीहरुको चाहना अनुसार सीप सिकाइरहेका छौं । तीन महिनामा उनीहरुले धेरै कुरा सिक्नेछन् ।’
यस्तै २० जना महिलाहरुका लागि ४५ दिने हातेहोजीयारी तालिम समेत सञ्चालनमा रहेको वडा अध्यक्ष भट्टले बताए । महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन र उनीको जिविकोपार्जनमा सहयोग पुर्याउन सीपयुक्त तालिम दिने काम भइरहेको उनको दाबी छ ।





