Sagun Khabar
बैतडीको सुर्नयामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले विभिन्न वडामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरेको छ । गर्भवती महिलाहरुलाई लक्षित गरेर ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाई आमा र शिशुको मृत्युदर घटाउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो । शिविरमा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरी उनीहरुको पेटभित्रको बच्चाको अवस्थाका बारेमा जानकारी लिने गरिन्छ । गर्भवती आमाहरुमा कुनै जटीलता देखिएमा उनीहरुलाई सुविधा सम्पन्न अस्पतालमा गएर बच्चा जन्माउन सुझाव दिने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । उनले भने ‘मातृ र शिशु मृत्यु रोक्नका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं । पालिकाका ८ ओटै वडामा शिविर सञ्चालन गरिरहेका छौं ।’

वडा नं ६, ७ र ८ मा यसअघि नै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले यही चैत २१ गतेबाट अन्य वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ । चैत २१ गते रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएकोमा २६ जना गर्भवती महिलाहरुको चेकजाँच गरिएको छ । यस्तै बुधबार भौनेली स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा ५० जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको छ । 

आज वासुलिंग स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । शुक्रबार वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमो शिविर सञ्चालन हुनेछ । 

यस्तै वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा चैत २६ गते ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । शिविरमा आइ सेवा लिन समेत सबैलाई आग्रह गरिएको छ । शिविर सञ्चालनका बेला आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आएर चेकजाँच गर्नका लागि सुर्नया गाउँपालिकाले आग्रह गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update