Sagun Khabar
जिल्ला प्रशासन कार्यालय डोटीका सेवा पुनः सुचारु 

डोटी –जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः सुरु गरेको छ ।  प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः सुरु गरेको जनाएको छ ।

कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित बार तय गरी सेवा पुनः सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि आइतबार र सोमबार तोकिएको छ ।

Atrya hospital

त्यसैगरी शिखर नगरपालिका र केआइसिंह गाउँपालिका सेवाग्राहीले मङ्गलबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । सायल र आदर्शगाउँपालिकाका सेवाग्राहीलाई बुधबार र बिहीबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ ।

यसैगरी जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी तथा पूर्वीचाँकी गाउँपालिकाका सेवाग्राहीले शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्  ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न र कार्यालयमा भीडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रजिअ सुनिल खनालले बताए  । सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबै सेवाग्राहीमा आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update