Sagun Khabar
बैतडीमा अवैध मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा 

बैतडी–बैतडीमा एक अवैध मेडिकल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित मेडिकलमा स्वास्थ्यकर्मीको रुपमै काम गर्दै आएकी श्यामाकुमारी शाहलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

पञ्चेश्वर सञ्चालित श्यामा क्लिनिक जिल्ला प्रशासन कार्यालयले गएको जेठ दोश्रो साता सिल गरेको थियो । प्रक्रिया नपुर्याएर क्लिनिक सञ्चालन भएको भन्दै प्रशासनले सिल गरेको हो । 

प्रशासनले सिल गरेको क्लिनिक जानकारी नदिइ फेरी सञ्चालन गरेको जानकारी आएपछि श्यामालाई सोधपुछका लागि नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

श्यामा स्वास्थ्यसंग सम्बन्धित व्यक्ति नभएको र उनीले नै क्लिनिकमा बिरामी जाच्नेदेखि लिएर औषधि विक्रि गर्ने काम गरिरहेकाले नियन्त्रणमा लिइएको खत्रीले बताए । श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमति हुन् ।  

स्वास्थ्य शाखा प्रमुख शाहले नै अवैध क्लिनिक सञ्चालन गरेको भन्दै व्यापक विरोध समेत भएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा शाह दम्पतीले खेलवाड गरेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update