बैतडी- यू–१६ विजेता खेलाडी नरेन भट्टलाई बैतडीमा रास्वपाले सम्मान गरेको छ । केहि दिन पहिले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका खेलाडी भट्टलाई राष्ट्रिय स्वतन्त्र पार्टी मेलौलीले सम्मान गरेको हो ।
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका खेलाडी भट्टलाई मेलौली काँडाबजारमा रहेको रास्वपाको पार्टि कार्यालयमा आयोजित कार्यक्रममा सम्मान पत्र सहित दोसल्ला ओडार सम्मान गरिएको रास्वपा मेलौली कमिटि सभापति अर्जुनदेव भट्टले बताए ।
ओपनर ब्याटर नरेन मेलौली ७ काँडाका हुन् । खेल खेलेर घर पुगेका भट्टलाई सोमबार सम्मान गरिएको हो । ओपनर ब्याटर नरेनले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एसिसी यू१६ मा ब्याटर भट्टले मलेसिया संगको फाइनल खेलमा ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।
सुदूरपश्चिम बैतडीबाट उदयीमान खेलाडी नरेनले क्षमता र खेल कौशलता मार्फत देशकै शिर उच्च पारेको रास्वापा मेलौली कमिटि सभापति भट्टको भनाई छ । नरेन जस्ता होनाहार खेलाडी पाउनु बैतडीका लागि गर्वको विषय रहेको उनले बताए । मेलौली १ आगर बस्ने पूर्व शिक्षक गंगादत्त ओझाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।





