बैतडी- बैतडीको कृष्ण मावि पाटन र सनातन धर्म मावि श्रीकोटमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ । नेपाली सेनाले सोमबार देखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको हो । विद्यार्थीहरुलाई तालिम दिन थालिएको हो ।
बैतडीमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मले दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा रहेको सनातन धर्म मावि, खोचलेक र पाटन नगरपालिका ६ मा रहेको श्रीकृष्ण माविमा एनसीसी तालिम सुरु गरेको बैतडीको गढीमा रहेको हनुमानध्वज गुल्मका गुल्मपती,सेनानी प्रल्हाद थापाले जानकारी दिए ।
विद्यालयहरुमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गर्न थालिएको उनले बताए। विद्यालयमा माध्यमिक तहका १८÷१८ छात्र÷छात्रा छनोट गरी तालिम दिन थालिएको छ ।
कुल एकसय दिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय एकताको भावना विकास ,अनुशासनलगायतका कुराहरु सिकाइने सेनानी थापाले बताए। यसका साथै विपद्को बेला एनसीसी तालिम गरेका विद्यार्थीहरुलाई परिचालन गरिने र यसले विपद् व्यवस्थापनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





