बैतडी -बैतडीमा पनि विपी स्मृति दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर जिल्लामा पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४१ औँ स्मृति दिवस मनाइएको हो ।
विपी बिचार राष्ट्रिय समाज बैतडीको आयोजनामा जिल्लाको शाहीलेकमा विपी स्मृति दिवस मनाइएको विपी बिचार राष्ट्रिय समाज बैतडीका सभापति रमेश सिंह भण्डारीले जानकारी दिए ।
विपीको तस्बिरमा माल्यापर्णका साथै उनका बिचार माथि छलफल गरेर दिवस मानाइएको उनले बताए । बर्तमान राजनीतिक परिवेशमा विपी विचारको सान्दर्भिकता विचार गोष्ठीको आयोजना गरेर ४१ औँ स्मृति दिवस मनाइएकोउनले बताए ।
विपी स्मृति दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेस अहिले विपी विचार भन्दा बाहिर गएको महशुस भएकाले विपी विचारमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । विपी बिचार राष्ट्रिय समाज बैतडीका सभापति रमेशसिंह भण्डारीको सभाध्यक्षतामा सदरमुकाममा भएको कार्यक्रममा नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्रसिंह थापा, नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति हर्क बहादुरचन्द ,पूर्व सचिव पिसी लेखक,पूर्व नगर सभापति लालबहादुर चन्द ,क्षेत्रीय सचिव धनबहादुर क्षेत्री,महिला संघका अध्यक्ष देबु ठगुन्ना तथा तरुण दलका उपाध्यक्ष महेश भट्टको सहभागिता रहेको थियोे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका बरिष्ठ सदस्य रमेश समाजका सदस्य शहदेब भट्टको पनि कार्यक्रममा सहभागिता थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो ।
२०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ-मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।
प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।





