बैतडी- बैतडी, दार्चुला र बझाङ, आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघ गर्जन तथा चट्याङसहित भारी वर्षा भएर यहाँका स–साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको हो ।
ती जिल्लाका केही स–साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ। यस्तै, झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, अछाम, डोटी, डडेलधुरा, बाजुरा, कालिकोट र आसपास भइ बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान छ।
बुधबार बिहानको मापनअनुसार कोशी, कन्काइ, नारायणी, कर्णाली, महाकाली, बबइ, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। स–साना नदीहरुमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको छ ।





