Sagun Khabar
बैतडीको सिद्धेश्वर स्वास्थ्यचौकी पुनः किशोरकिशोरीमैत्री प्रमाणीकरण 

बैतडी –बैतडीको पाटन नगरपालिका ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी पुनः किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण सबै सूचक पूरा गरेपछि मंगलबार स्वास्थ्यचौकीलाई पुनः किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिएको स्वास्थ्यचौकीका इन्चार्ज जयराज भट्टले बताए । 

यो भन्दा ८ बर्ष अघि किशोरकिशोरीमैत्री प्रमाणीकरण भएको संस्थालाई विभिन्न सूचकहरुको अध्ययनपश्चात किशोरकिशोरीमैत्री संस्था पुनः प्रमाणीकरण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण निर्देशिका २०७९ अनुसार तय भएका मापदण्ड र सूचकमध्ये सिद्धेश्वर स्वास्थ्यचौकीले ९३.१८ प्रतिशत अंक प्राप्त गरेकाले सो संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्यचौकी पुनः प्रमाणीकरण गरिएको हो । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि तय गरिएका सूचकमध्ये ८० प्रतिशतभन्दा बढी अंक ल्याउने स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने गरिएको छ । 

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थामा किशोरकिशोरीहरुका लागि अलगै कक्षको व्यवस्था भएको, उनीहरुका लागि गोपनियतासहितको सेवा दिने सुनिश्चितता भएको लगायतका आठओटा आधारमा रहेर स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा आड्रा नेपालले काम गर्दै आएको सो संस्थाका कार्यक्रम संयोजक राजीव यादवले बताए । 

पछिल्लो समयमा नेपाल सरकारले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि तयार पारेको निर्देशिका अनुसार स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गर्ने गरिएको उनले बताए । किशोरकिशोरीमैत्री प्रमाणीकरण भएको स्वास्थ्य संस्थालाई ३ बर्षपछि पुनः किशोरकिशोरीमैत्री प्रमाणीकरण गर्नुपर्ने प्रावधान रही आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update