बैतडी –बैतडीबाट निर्वाचित सभाषद शिवराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि उनको गृह जिल्ला बैतडीमा दिपावली गरिएको छ ।
भट्ट मन्त्री भएको खुसीयालीमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देहीमाण्डौंमा दिपावली गरिएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं २ क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।
नेपाली कांग्रेस दशरथचन्द नगरपालिका वडा नं २ का वडा उपसभापति सुरेन्द्रबहादुर बोहराको अध्यक्षतामा भएको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम र दिपावली कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहरा प्रमुख अतिथी रहेका थिए ।
दिपावली कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश बोहरा, क्षेत्रीय सचिव धनबहादुर क्षेत्री लगायतका देहीमाण्डौं क्षेत्रका स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले बैतडीले सुदूरपश्चिम सरकारमा मन्त्री पाएकोमा खुसी व्यक्त गरेका छन् । गएको मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा बैतडी प्रदेश सभा क्षेत्र नं २बाट निर्वाचित भएका भट्ट आज आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका हुन् ।
सुदूरपश्चिम सरकार विस्तारको क्रममा नेपाली कांग्रेसबाट भट्ट मन्त्रीमा नियुक्त भएका हुन् ।




