बैतडी –सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा डेंगुको जोखिम बढ्दै गएको छ । पहाडी जिल्लाहरुमा लामखुट्टे उक्लिएपछि डेंगुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्दछ । बर्षातको समयमा लामखुट्टे बढी हुने र लामखुट्टेले टोकेमा डेंगु संक्रमण हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
पहाडी जिल्लाहरुमा पनि डेंगु संक्रमणको जोखिम बढ्दै गएको भट्टले बताए । सुदूरपश्चिमको दार्चुलामा यो बर्ष सबैभन्दा बढी १ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
प्रदेशभरी १ हजार ६१४ जनामा संक्रमण पुष्टि भएकोमा पहाडी जिल्लाहरुमा पनि यसको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
तराईका जिल्लामा बढी हुने डेंगु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ । पछिल्लो तथ्यांक हेर्दा पहाडी जिल्लामा पनि डेंगुको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको उनले बताए ।
वर्षातमा दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लाभौ नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।
डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक तिर्थराज भट्टले बताए ।




