Sagun Khabar
कांग्रेसले ‘बिशेष आन्तरिक अभियान’का लागि प्रतिनिधि खटायो, सुदूरपश्चिममा को–को ?

बैतडी –नेपाली कांग्रेसले ‘बिशेष आन्तरिक अभियान’का लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको हो । नेपाली कांग्रेसको केही दिन पहिला सम्पन्न भएको केन्द्रीय समितिको बैठकको म्याण्डेड अनुसार अभियान सञ्चालनको तयारी भएको हो । 

यही श्रावण २० देखि ३० गते सम्म सञ्चालन हुने अभियानका लागि सुदूरपश्चिममा ९ जना प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ । प्रदेशभित्र रहेका १६ ओटा संघीय निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरुले बिशेष अभियान सञ्चालन गर्ने बताइएको छ । 

संगठन सुदृढीकरण,पार्टीको आन्तरिक प्रशिक्षण लगायतका कार्यहरुका लागि प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थीले बताए । 

अभियानका लागि बैतडीमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीलाई खटाइएको छ भने दार्चुलामा केन्द्रीय सदस्य यज्ञराज जोशीलाई खटाइएको छ । 

यस्तै बझाङमा डा.रणबहादुर रावल, डडेल्धुरामा गोविन्दबहादुर शाह, डोटीमा विद्यादेवी तिमिल्सीना, अछाममा सुशीला मिश्र भट्ट, बाजुरामा नृपबहादुर ओड,कैलालीमा अर्जुनजंगबहादुर सिंह र कञ्चनपुरमा जीवन रानालाई खटाइएको छ । 

अभियानले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि सहयोग गर्ने नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

Nc1691033104.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update