Sagun Khabar
बैतडीमा जन्मियो असाधारण शिशु 

बैतडी –बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन् । 

लुहारले कटौंजपानी  स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन् । असाधरण शिशु जन्मेपछि थप उपचारका लागि आफूहरुले सल्लाह दिएको उनले बताइन् । उनले भनिन् ‘समान्य शिशुभन्दा फरक बच्चा जन्मिएको छ । बच्चाको टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टाजस्तै माथि गएको छ । सुविधा सम्पन्न अस्पतालमा लैजान हामीले सल्लाह दिएका छौं ।’

करीब दुई महिना अघि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको भएपनि जन्मिँदा असाधारण शिशु जन्मिएको अनमी जोशीले बताइन् । 

अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् । शिशुको थप उपचारका लागि सहयोगको आवश्यकता रहेको अनमी जोशीले बताइन् । 

यस्तो शिशु जन्मिुनको कारण यही हो भन्न नसकिए पनि कम उमेरमा बच्चा जन्मिएमा बिकलांग हुने सम्भावना बढी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update