Sagun Khabar
बैतडीको मल्लोढोलेमा पहिरोले मकैबालीमा क्षति, बस्ती पहिरोको जोखिममा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ८ मल्लोढोलेमा सडकमाथिबाट खसेको पहिरोले मकैबालीमा क्षति पुर्याएको छ । बिहीबार रातिको बर्षाले सतबाँझ–श्रीभावर सडकखण्ड अन्तर्गत मल्लोढोलेको खाइली भन्ने स्थानमा पहिरो खस्दा मकैबालीमा क्षति पुर्याएको हो । 

पहिरोले अमरसिंह बोहरा, जहरे बोहरा र सालीभान बोहराको मकैबालीमा क्षति पुर्याएको स्थानीय डम्मर बोहराले बताए । सडकमाथिबाट खसेको पहिरोले मकै लगाएको खेत बगाएको उनले बताए । 

यस्तै सडकमाथिबाट खसेको पहिरोले मल्लोढोलेका चार घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय लाल लुहार, पाटी लुहार, परमल लुहार र जहरे बोहराको घर पहिरोको जोखिममा परेका हुन् । घरमाथि रहेको सडकबाट खसेको पहिरोका कारण उनीहरुका घर जोखिममा परेका स्थानीय डम्मर बोहराको भनाइ छ । 

ढोल्यामोडदेखि खनिएको सडकले हरेक बर्षातमा क्षति पुर्याउँदै आएको छ । सडकमाथिबाट खस्ने पहिरोले हरेक बर्ष मकैबालीमा क्षति हुने गरेको स्थानीयहरुको भनाइ रहेको छ । 

सडकमा पहिरो रोकथामका उपाय नअपनाउँदा पहिरोका कारण बस्ती नै जोखिममा परेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update