Sagun Khabar
बैतडीमा भाइरल हेपाटाइटिस नियन्त्रणका लागि प्रयास हुँदै 

बैतडी –बैतडीको पाटन नगरपालिका ४ चिल्लेपानीमा भाइरल हेपाटाइटिसको प्रकोप देखिएपछि त्यसलाई नियन्त्रणका लागि प्रयास शुरु भएको छ । 

स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाले प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई भाइरल हेपाटाइटिसका बारेमा जानकारी दिने गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

चिल्लेपानी क्षेत्रमा सोमबार गरिएको परीक्षणमा थप १६ जनामा भाइरल हेपाटाइटिस देखिएपछि सो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

यस्तै भाइरल हेपाटाइटिसबाट बच्नका लागि अपनाउनुपर्ने उपायका बारेमा समेत जानकारी दिने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । भाइरल हेपाटाइटिस भएमा ज्वरो आउने, वान्ता हुने, खान मन नलाग्ने, जण्डीस हुने लगायतका लक्षणहरु देखा पर्छन् । 

भाइरल हेपाटाइटिस दूषित पानीको प्रयोगबाट सर्ने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । प्रभावित क्षेत्रको पानीको नमूना संकलन गरेर परीक्षणको काम समेत भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

भाइरल हेपाटाइटिस भाइरसबाट हुने भएकाले सरसफाइमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update