बैतडी –बैतडीका एक निर्माण व्यवसायीले ५ करोडको लगानीमा बाख्रापालन शुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका हुन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन सबैलाई आकर्षित गरेको छ । उनले शुरु गरेको बाख्रापालन व्यवसाय निकै लोभलाग्दो रहेको स्थानीयहरुले बताएका छन् ।
भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । सिरोही जातको ‘भीम’ नाम गरेको एक सय असी किलो तौलको बोकासमेत फार्ममा रहेको उनले बताए ।
निर्माण व्यवसायका साथैसाथै कृषिकर्म पनि शुरु गरिएको चन्दले बताए । आफ्नै क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उद्देश्यसहित बाख्रा फार्म सञ्चालन गरेको उनको भनाइ छ । उनले भने ‘मेरो फार्ममा उन्नत जातका बाख्रा छन् । छिटो वृद्धि हुने र फाइदा हुने भएकाले उन्नत जातको छनोट गरेर फार्ममा बाख्रा राखेका हौं ।’
ग्वाल्लेक एग्रो फार्म नाम राखेर बाख्रापालन व्यवसाय शुरु गरेको चन्दले बताए । शुरुमा खरी जातका स्थानीय बाख्रा राखेर शुरु गरेको फार्ममा अहिले उन्नत जातका बाख्रा राखिएका छन् ।
बाख्रा पालनका लागि चार तलाको पक्की घर समेत निर्माण गरिएको छ । फार्ममा अहिले एकसय ५० जति बाख्रा रहेका चन्दले बताए । बाख्रा फार्म अहिले ६ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । उनले भने ‘बाख्राको स्याहार,चरिचरन र नियमित स्वास्थ्य जाँचका लागि ६ जना राखेका छौं ।’
बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए ।
बाख्रा पालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुर पालन पनि गर्ने योजना रहेको उनले बताए । स्थानीय स्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिए ।
बुवा बाजेको आठ सय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताए ।
बाख्रापालन व्यवसायमा उनको घरपरिवारको समेत सहयोग रहेको छ । चन्दकी श्रीमति कौशिला चन्द दशरथचन्द नगरपालिकाकी उपप्रमुख समेत हुन् । उनले पनि आफ्नै व्यवसायबाट उन्नती गर्नुपर्ने उद्देश्यसहित बाख्रापालन शुरु गरिएको बताइन् । उनले भनिन् ‘हामीले बाख्रापालन व्यवसाय शुरु गरेका छौं । यसबाट अरुलाई पनि सिकाइ होस् भन्ने हाम्रो उद्देश्य छ ।’
राजनीति समाजसेवा भएको बताउँदै उपप्रमुख चन्दले आर्थिक उन्नतीका लागि बाख्रापालन व्यवसाय शुरु गरेको बताइन् । नगरपालिकाबाट पाइने सेवा सुविधा दलित तथा गरीब परिवारका बालबालिकाहरुको पढाईमा लगानि गर्ने घोषणा गरेकी चन्दले कृषि पेशाबाटै उन्नती गर्ने उद्देश्य लिएको बताइन् ।




