बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्ट प्रमुख अतिथी रहेका थिए ।
साधारण सभामा संस्थाका व्यवस्थापक मदनसिंह भाटले ८० लाख ८० हजार ८०९ रुपैंया बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सहकारी संस्थामा २९७ जना शेयर सदस्यहरु रहेका छन् । यस्तै १३६ बालबचत र १३ ओटा संस्थागत बचत रहेका सहकारी संस्थाका सह–व्यवस्थापक खेमराज भट्टले बताए ।
यस्तै साधारण सभाको अवसरमा सहकारी संस्थाले १३ जना असल ऋणीहरुलाई नगद र सम्मानपत्रसहित सम्मानित गरेको छ । गत आर्थिक बर्षमा संस्थाको नियम अनुसार समयमा ऋण चुक्ता गर्ने र ब्याज बुझाउने असल ऋणीहरुलाई सम्मान गरिएको सहव्यवस्थापक भट्टले बताए । उनीहरुलाई संस्थाको पूँजी संरक्षित कोषबाट सम्मानित गरिएको हो ।
सहकारी संस्थाको बार्षिक साधारण सभामा शेयर सदस्यहरुका साथै अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




