बैतडी –नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल बैतडीको कार्यबाहक अध्यक्षको जिम्मेवारी महेशदत्त भट्टलाई दिइएको छ । तरुण दल बैतडीका उपाध्यक्ष समेत रहेका भट्टलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पेको तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
तरुण दल बैतडीको झण्डा उचो राख्दै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भट्टलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरिएको छ । नेपाल तरुण दलको विधान २०१० परिच्छेद ८ को धारा ३५ को ३ (ख) बमोजिम अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।
यस्तै तरुण दल बैतडीको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समेत कार्यबाहक अध्यक्ष भट्टको काँधमा आएको छ । नेपाल तरुण दलले गरेको निर्णय शिरोधार्य गर्दै संगठन निर्माणमा आफू डटेर लाग्ने कार्यबाहक अध्यक्ष महेशदत्त भट्टले बताए । कांग्रेसमा आस्थावान तरुणहरुलाई एकजुट गरी पार्टी निर्माणमा लाग्ने उनले प्रतिबद्धता जनाएका छन् ।
तरुण दलले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने बताउँदै कार्यबाहक अध्यक्ष भट्टले दलको संगठनलाई चलायमान बनाउने दाबी गरे ।




