Sagun Khabar
बैतडीमा ‘बेवारिसे’अवस्थाको ८३ ग्राम  सुन बरामद 
फाइल फोटो

बैतडी –बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परको छ । काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०३ नम्बरको बसबाट छाडिएको केही सामाग्रीमा आइतबार बिहान सुन फेला परेको हो । 

खोडपे प्रहरी चौकीको चेकपोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि चेक पोष्टमै राखेका थिए । 

सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोलीले अनुसन्धान गर्दा प्याकेटमा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

८३ ग्राम ५२० मिलिग्राम (करिब ७ तोला अढाइ आना) परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामद गरेर इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको प्रहरी निरीक्षक जोशीले बताए ।

सुन भेटिएको प्याकेटमा बिल नभेटिएको हुनाले सुनको वैधानिकता माथि शंका गरिएको छ । सुन कसको हो कहाँबाट कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update