Sagun Khabar
एसईई ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा ६ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ? 

बैतडी –माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेड वृद्धि परीक्षाका लागि ६ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । 

विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा, मेलौली, सनातन धर्म मावि श्रीकोट, अर्जुन मावि गाँजरी र डिलेश्वरी मावि पुर्चौंडी हाटमा केन्द्र तोकिएको सूचना अधिकारी शर्माले बताए । 

विरेन्द्र मावि शाहीलेकमा दशरथचन्द नगरपालिकाका सबै विद्यालय, पञ्चेश्वर गाउँपालिकाका नागार्जुन मावि रन्तोली, जबलपुर मावि जबलकट्टे र आमपुर मावि बिजुलको केन्द्र तोकिएको छ । यस्तै मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थानको केन्द्र पनि विरेन्द्र मावि शाहीलेकमै तोकिएको छ । 

कृष्ण मावि पाटनमा पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका सबै विद्यालयहरुको केन्द्र तोकिएको छ भने मणिलेक माविमा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालयहरुको केन्द्र तोकिएको छ । 

यस्तै डिलेश्वरी मावि पुर्चौंडी हाटमा पुर्चौंडी नगरपालिका अन्तर्गतका सबै विद्यालयको केन्द्र तोकिएको छ भने अर्जुन मावि गाँजरीमा सिगास गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुको केन्द्र तोकिएको छ ।

यस्तै सनातन धर्म मावि श्रीकोटमा दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका सबै विद्यालयहरुको केन्द्र तोकिएको सूचना अधिकारी शर्माले बताए । 

यही साउन २६ र २७ गते हुने एसईई ग्रेडवृद्धि परीक्षमा १२सय ६१ छात्र र १३ सय ६९ छात्रा गरी २६ सय २० परीक्षार्थी सहभागी हुनेछन् । 

अंग्रेजी वा अंग्रेजीबाहेक एकमात्रै बिषयको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई बिषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको बिषयको परीक्षा साउन २६ र ठूलो कोडको बिषयको परीक्षा २७ गते सञ्चालन हुनेछ । 

एसईई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण भएको विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालनका बिषयमा अभिमुखीकरण समेत गराइने उनले बताए ।  
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update