Sagun Khabar
बैतडीको पाटनमा डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’अभियान 

बैतडी –बैतडीको पाटन बजारमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको । स्वास्थ्य कार्यालय बैतडी, पाटन नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्र पाटनको आयोजनामा सोमबार पाटन बजार क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु गरिएको हो । 

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको स्वास्थ्य कार्यालयका बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । पाटनका एकसय भन्दा बढी सरोकारवाहरुको उपस्थितीमा डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेपछि बजारमा लार्भा नष्ट गरिएको उनले बताए ।

अभियानका क्रममा बजार क्षेत्रमा पानी जम्ने ठाउँ, पानी भरिएका ड्रम लगायतका ठाउँमा लार्भा हुन सक्ने भएकाले त्यस्तो पानी हटाईएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

लामखुट्टेको वृद्धि विकास हुन नदिन पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, ड्रम लगायतका ठाउँमा पानी जमा गर्नुपरेमा छोपेर राख्नुपर्ने बिषयमा स्थानीयहरुलाई जानकारी समेत दिइएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update