Sagun Khabar
शिक्षण सिकाई अभिवृद्धिका लागि पाटन –९ ले गर्यो अन्तरक्रिया 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ९को कार्यालयले सामुदायिक विद्यायहरुको शिक्षण सिकाई अभिवृद्धिका लागि अन्तरक्रिया गरेको छ । सोमबार शिक्षक, विद्यार्थी, अविभावक तथा जनप्रतिनिधिबीच अन्तरक्रिया गरिएको हो । 

गत बर्षको एसईई परीक्षामा समेत विद्यालयहरुको नतिजा सन्तोषजनक नआएकाले अबका दिनमा कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया केन्द्रित गरिएको जिल्ला समन्वय समितिका सदस्य एवं सिद्धेश्वर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए । सबै पक्षसंग आवश्यक सल्लाह र परामर्श अनुसार शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया गरिएको उनले बताए । 

वडाभित्रका सामुदायिक विद्यालयहरुका समग्र शैक्षिक गुणस्तर सुधारका बिषयमा अन्तरक्रिया गरिएको हो । यसले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने पाटन नगरपालिकाको शिक्षा शाखामा कार्यरत बिर्खराज भट्टले बताए । 

अन्तरक्रिया कार्यक्रममा विद्यालयमा अभिभावक उपस्थितिको कार्ड पनि वितरण गरिएको छ । विद्यालयका कार्यक्रममा अविभावकहरुको उपस्थिति भए नभएको रेकर्ड राख्नको लागि कार्ड वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

शिक्षण सिकाई प्रभावकारी बनाउनको लागि अविभावकहरुको पनि विद्यालयमा उपस्थित हुनुपर्ने भएकाले आफ्ना बालबालिकाको शिक्षण सिकाईको बारेमा बुझ्न विद्यालयमा बेलाबेला उपस्थिति हुनुपर्ने र सोको विवरण कार्डमा उल्लेख गनुपर्ने वडा कार्यालयले जनाएको छ । 

पाटन नगरपालिका वडा नं ९ मा ४ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । अन्तरक्रियामा जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख दमनबहादुर कुँवरको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update