Sagun Khabar
भदौ २१ गते गौरा मनाउने खटोला अवस्थी समाजको निष्कर्ष 

बैतडी –गौरा पर्वको तिथीमितिका बिषयमा भदौ ७ कि २१ गते भन्ने बहस भइरहेका बेला खटोला अवस्थी समाजले भदौ २१ गते गौराको उपयुक्त तिथी भएको निष्कर्ष निकालेको छ । 

खटोला अवस्थीहरुको मूल बसोबास रहेको बैतडीको सुर्नया ६ मूलखटालीमा भएको छलफलले भदौ २१ गते नै गौराको उपयुक्त तिथी भएको निष्कर्ष निकालेको ज्योतिष कृष्णानन्द अवस्थीले बताए । 

पुत्रदा एकादशी अर्थात गौरा एकादशी, जनैपूर्णिमाको ब्रत उपासना नगरी दुबधागो धारण गर्ने प्रचलन नरहेकाले भदौ २१ गते नै उपयुक्त तिथी भएको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै पर्ने भएको र यो भूखण्डमा अगस्ती उदय भाद्र कृष्ण अष्टमीपछि मात्रै हुने ज्योतिषीय गणितले देखाएकाले हुनाले भदौ २१ गतेको तिथी उपयुक्त भएको अर्का ज्योतिष गणेशदत्त अवस्थीले बताए । 

विगतका परम्परा, पर्व मनाउने चलन र गणितीय हिसाबले भदौ २१ गते गौरापर्व मनाउन उपयुक्त हुने निष्कर्ष निकालेको समाजले जनाएको छ । खटोला अवस्थी बसोबास गर्ने सबै ठाउँमा भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी ब्रत उपासना गर्न आग्रह गरिएको पूजारी अवस्थीले बताए । 

प्राचिन हस्तलिखित पञ्चांगहरुमा भदौ २३ गते सम्म गौरा मनाएको देखिएकाले यो बर्षको गौरा भदौ २१ गते उपयुक्त रहेको पाटनस्थित महारुद्र मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।

भाद्र शुक्ल पक्षमा दुर्वाष्टमी पर्व पर्ने र त्यो भन्दा अघि अगस्तोदय भएमा भाद्र कृष्ण अष्टमीका दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय बचन र लौकिक परम्परा रहेको समेत ज्योतिष अवस्थीले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update