बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ स्थित हरिनगर बजारमा पुग्ने बाटो अप्ठ्यारो हुँदा नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ । डिलाशैनी गाउँपालिकाको मुख्य बजारको रुपमा रहेको हरिनगर बजारमा चमेलिया नदीको किनारैकिनार भएर बाटो रहेको र बर्षातको समयमा जोखिमपूर्ण तरीकाले हिँडडुल गर्नुपर्ने अवस्था रहेको स्थानीय तेजराज नाथले बताए ।
चमेलिया पुल छेउबाट हरिनगर बजार सम्म पुग्ने बाटोको तलतिर चमेलिया नदी र माथिपट्टी भीर भएका कारण आवतजावतमै समस्या भएको उनले बताए । सो बाटो भएर स्थानीय नागरिक, विद्यार्थीहरु आवतजावत गर्ने भएकाले बर्षातको समयमा निकै समस्या हुने गरेको नाथले बताए ।
चमेलिया नदीमा बाढी बढेको बेला आवतजावत गर्न नमिल्ने उनले बताए । अहिले पनि धेरैले जोखिम मोलेर सोही बाटोको प्रयोग गरिरहेका छन् । बढीमा १ किलोमिटर मात्रै बाटो अप्ठ्यारो रहेको भएपनि त्यसलाई बनाउने प्रयास नभएको स्थानीयहरुको गुनासो रहेको छ ।
हरिनगर बजारसम्म पुग्ने बाटो निर्माणका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने तयारी भइरहेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । चमेलिया नदी किनारमा तटबन्ध निर्माण गरेर मात्रै बाटो बनाउन सकिने भएकाले स्थानीय तहको बजेटले सो बाटो निर्माण हुन नसक्ने उनले बताए ।
सो बाटो निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसंग पहल भइरहेको प्रवक्ता भट्टले बताए । बर्षातको समयमा सो बाटोमा जोखिम हुने भएकाले अर्को बाटो भएर हरिनगर बजारमा आवतजावत गर्न आग्रह गरिएको उनले बताए ।




