Sagun Khabar
भिमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध, नयाँ ट्रयाक खुलेपनि गाडी चलेनन् 

बैतडी – भिमदत्त राजमार्ग पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु पाँच दिनदेखि बीच बाटोमै अलपत्र परेका छन् । 

पहिरोले सडक नै भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । तर लगातारको बर्षाले नयाँ ट्रयाक हिलाम्य हुँदा गाडी चलाउन नमिलेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अत्तरियाले जनाएको छ । नयाँ खोलिएको ट्रयाकमा ढुंगा भर्ने काम भइरहेको बताइएको छ । 

बर्षा नभएमा आज राजमार्ग सुचारु हुन सक्ने अनुमान गरिएको छ । तर बर्षा भइरहेकाले काम गर्न असहज भएको छ । 

भिमदत्त राजमार्ग अवरुद्ध हुँदा सात पहाडी जिल्लाको तराईसित सम्पर्क टुटेको छ । वैकल्पिक सडकमार्ग नहुँदा नागरिकले सास्ती खेप्नुपरीरहेको छ । 

सडकको करीब ५ सय मिटर पहिरोले भत्काएपछि समस्या भएको हो । पहिरो पन्छ्याएर नयाँ ट्रयाक खोलिएको भएपनि हिलोका कारण समस्या भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । बर्षाका कारण सडक खुलाउने प्रयासमा बाधा पुगेको उनले बताए । 

सडकखण्डमा ठूलो पहिरो खस्दा नजिकैका सात÷आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन वटा एक्साभेटर र दुई लोडर प्रयोग गरी सडक खुलाउने प्रयास गरिरहेको छ । 

सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि, साग, तरकारीलगायत सामानको आपूर्ति रोकिएको छ । बाटो अवरुद्ध हुँदा मालवाहक गाडी बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी गाडीको आवागमन हुने गर्छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update