बैतडी –बैतडीमा गत आर्थिक बर्षमा जिल्लाभरी २९० जनालाई विभिन्न सीपमूलक तालिम दिइएको छ । स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्नका लागि जिल्लाभरीका २९० जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण साउँदले जानकारी दिए ।
दशरथचन्द नगरपालिकाका १० जनालाई डल तथा कुसन स्तरोन्नती तालिम दिइएको छ भने सुर्नयाका २८, पाटनका २९ र मेलौलीका २० जनालाई उद्यमशिलता तालिम प्रदान गरिएको छ ।
यस्तै पाटन नगरपालिकाका विभिन्न स्थानका १३ जनालाई तरकारी उत्पादन तालिम,सुर्नयाका १० जनालाई चुरापोते उत्पादन तालिम, शिवनाथका १२ जनालाई मेसिनद्वारा होजियारी तालिम, दोगडाकेदारका १५ जनालाई हाउस वाइरिङ तालिम र दशरथचन्द नगरपालिकाका १२ जनालाई ब्युटीपार्लर स्तरोन्नती तालिम प्रदान गरिएको छ ।
यस्तै मेलौली नगरपालिकाका १२ जनालाई ब्युटीपार्लर विकास तालिम, सुर्नयाका १५ जनालाई सिलाईकटाई सीप विकास तालिम, जिल्लाभरीका १० जनालाई हातेट्याक्टर मर्मत र १० जनालाई फर्निचर सीप विकास तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए ।
डिलाशैनी गाउँपालिकाका ११ जना र जिल्ला कारागारमा रहेका १६ जनालाई कैदीबन्दीलाई बास निगालोका सामग्री उत्पादन तालिम प्रदान गरिएको कार्यालय प्रमुख जोशीले बताए ।
यस्तै दशरथचन्द नगरपालिकाका ११ जनालाई मौरीपालन स्तरोन्नती तालिम, १३ जनालाई मोबाइल मर्मत सीप विकास तालिम र २१ जनालाई होजीयारी स्तरोन्नती तालिम प्रदान गरिएको सूचना अधिकारी साउँदले जानकारी दिए ।
यस्तै पञ्चेश्वरका १० जनालाई खोला तथा नदीबाट सुन्न छान्ने सीप सम्बन्धी तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
सीपमूलक तालिम दिएर नागरिकलाई आत्मनिर्भरताको बाटोमा लाग्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको कार्यालयले जनाएको छ ।
यस्तै गत आर्थिक बर्षमा विभिन्न ४७ ओटा फर्मलाई औजार उपकरणहरु सहयोग गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।




