Sagun Khabar
भिमदत्त राजमार्ग सुचारु गर्नै सकस, लगातारको बर्षाले समस्या  

बैतडी – भिमदत्त राजमार्ग पहिरोका कारण ६ दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । गएको सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो । 

सुदूरपश्चिमका पहाडी जिल्लाको लाइफलाइनको रुपमा रहेको राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्ला र तराईका जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ । 

पहिरोले सडक नै भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । तर लगातारको बर्षाले नयाँ ट्रयाक हिलाम्य हुँदा गाडी चलाउन नमिलेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अत्तरियाले जनाएको छ । नयाँ खोलिएको ट्रयाकमा ढुंगा भर्ने काम भइरहेको बताइएको छ ।

शनिबार खाली गाडी र टिप्परहरु नयाँ ट्रयाकबाट तराईतर्फ पठाएपनि शनिबार रातिको बर्षाले फेरि समस्या भएको छ । पहाडी जिल्लाबाट छुटेका खाली ट्रक र टिप्परहरु तराईतिर पठाइएको भएपनि फेरि बर्षाले समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए । उनले भने ‘बर्षाका कारण सडक खुलाउन समस्या भएको छ । नयाँ खोलिएको ट्रयाकमा हिलो हुँदा गाडी गुडाउन मिलेको छैन् । सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।’

नयाँ खोलिएको ट्रयाकमा ढुंगा भर्ने काम भइरहेको भएपनि बर्षाका कारण समस्या भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । 

गएको ६ दिनदेखि यातायात अवरुद्ध हुँदा सैयौं यात्रुहरुलाई सास्ती भएको छ । भिमदत्त राजमार्ग अवरुद्ध हुँदा सात पहाडी जिल्लाको तराईसित सम्पर्क टुटेको छ । वैकल्पिक सडकमार्ग नहुँदा नागरिकले सास्ती खेप्नुपरीरहेको छ । 

सडकको करीब ५ सय मिटर पहिरोले भत्काएपछि समस्या भएको हो । पहिरो पन्छ्याएर नयाँ ट्रयाक खोलिएको भएपनि हिलोका कारण समस्या भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । बर्षाका कारण सडक खुलाउने प्रयासमा बाधा पुगेको उनले बताए । 

सडकखण्डमा ठूलो पहिरो खस्दा नजिकैका सात÷आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन वटा एक्साभेटर र दुई लोडर प्रयोग गरी सडक खुलाउने प्रयास गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update