Sagun Khabar
बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग 

बैतडी –बैतडीमा पनि आँखा पाक्ने रोग तीव्र गतिमा फैलिँदै गएको छ । तराईका जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग पछिल्लो समयमा बैतडीजस्ता पहाडी जिल्लामा समेत फैलिँदै गएको आँखा उपचार केन्द्र गोठलापानीका कर्मचारी सुनिल जोशीले बताए । 

आँखा उपचार केन्द्र गोठलापानी र आँखा उपचार केन्द्र पाटनमा करीब २० दिनको अवधिमा ८ सय आँखाका बिरामी उपचारका लागि आइसकेको जोशीले बताए । 

दैनिक २० जनाजति आँखा पाकेका बिरामीहरु केन्द्रमा उपचारका लागि पुग्ने गरेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताइन् । 

आँखा पाक्ने रोग लागेका बिरामीहरुमा आँखा रातो हुने, सुन्निने, चिलाउने, आँसु झर्ने लगायतका लक्षणहरु देखा पर्ने गरेका छन् । 

आँखा उपचार केन्द्र पाटनमा सिगास, मेलौली,शिवनाथ, पञ्चेश्वर, पुर्चौडी र सुनर्याका बिरामी बढी आउने गरेका कार्कीले बताइन् । 

गोठलापानी आँखा उपचार केन्द्रमा दशरथचन्द नगरपालिका, डिलाशैनी,दोगडाकेदार गाउँपालिकाका बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । 

एडिनो भाइरसका कारण मानिसहरुमा आँखा पाक्ने रोग फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आँखाको संक्रमण भएमा नजिकको आँखा उपचार केन्द्रमा पुगेर उपचार गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

आँखा पाक्ने रोगको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ । चिकित्सको सुझाव अनुसार मात्रै औषधि प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update