बैतडी –संघीय शिक्षा ऐनमा रहेका केही प्रावधानहरु सच्याउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको शिक्षक महासंघले बैतडीका पालिकाहरुमा पनि धर्ना दिएको छ । महासंघको केन्द्रीय कार्यक्रम अनुसार आइतबार सबै स्थानीय तहमा धर्नासहित ज्ञापन पत्र बुझाइएको नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि सहदेव भट्टले बताए ।
महासंघको केन्द्रीय कार्यक्रम अनुसार पालिकाहरुका केन्द्रमा दुईघण्टा धर्नासहित ज्ञापन पत्र बुझाइएको उनले बताए ।जिल्लाको दशरथचन्द नगरपालिकामा महासंघमा आवद्ध संघसंगठनका पदाधिकारीको सहभागितामा धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको भट्टले बताए ।
यस्तै पाटन नगरपालिकामा पनि महासंघमा आवद्ध संघसंगठनहरुको सहभागितामा धर्ना दिँदै ज्ञापन पत्र बुझाइको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव धनबहादुर महराले बताए ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा एकीकृत नेपाल शिक्षक संगठनका उपमहासचिव दलबहादुर कार्कीको उपस्थितीमा धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
जिल्लाका १० ओटै स्थानीय तहमा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । संसदमा पेश गर्ने भनिएको संघीय शिक्षा ऐनका केही प्रावधानहरु परिमार्जन गर्नुपर्ने आवश्यकता रहेकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको राहत शिक्षक संघर्ष समितिका संयोजक एवं नेपाल शिक्षक संघ दोगडाकेदारका सचिव गणेशदत्त भट्टले बताए ।




